बिचौलियाको कारण मूल्य आकाशियो – केरा किसान
८ बैशाख काठमाडौं । बजारमा केराको भाउ अचाक्ली भएको सन्दर्भमा नेपाल केरा उत्पादक महासंघले मुख खोलेको छ । केराको मूल्यमा बिचौलियाहरूको अत्यधिक हस्तक्षेप रहेको महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै किसानले बारीमा पाउने मूल्य र उपभोक्ताले बजारमा तिर्ने मूल्यबीचको ठूलो अन्तरले दुवै पक्ष मारमा परेको जनाएको हो ।
महासंघले हाल किसानको बारीबाट स्थानीय जातको (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रूपैयाँ र हाइब्रिड केरा ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको जनाएको छ । तर, त्यही केरा उपभोक्तासम्म पुग्दा प्रतिदर्जन ३५० देखि ४०० रूपैयाँसम्म पुग्ने गरेको छ । यसले बजारमा बिचौलियाको डरलाग्दो सक्रियता प्रष्ट पारेको महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए ।
महासंघले छिमेकी मुलुकहरूबाट भित्रिने केरामार्फत ‘फ्युजारियम विल्ट’ (पानामा रोग) को खतरनाक भेरियन्ट ‘ट्रपिकल रेस-४’ (TR-4) नेपाल भित्रिन सक्ने जोखिमसमेत औंल्याएको छ । यसले नेपालको जैविक सुरक्षामा सीधा खतरा पुर्याउने र भविष्यमा केरा खेती नै नष्ट हुने चेतावनी दिँदै महासंघले विदेशी केरा आयातमा सरकारले हालै गरेको नियन्त्रणको कदमलाई स्वागत गरेको छ ।
अहिले उत्पादन कम हुँदा असारसम्म संक्रमणकालीन अवस्था रहेको महासंघले जनाएको छ । देशभर हाल ४० देखि ५० लाख नयाँ बिरुवा विस्तार भइरहेको र राज्यले सही नीति लिए १-२ वर्षभित्रै नेपाल केरामा पूर्ण आत्मनिर्भर बन्ने महासंघको दाबी छ ।
महासंघले बजार अनुगमन प्रभावकारी बनाइ बिचौलिया नियन्त्रण गर्नुपर्ने, यूनतम समर्थन मूल्य निर्धारण गर्नुपर्ने, कृषि बीमा प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउनुपर्ने र गुणस्तरीय टिस्युकल्चर बिरुवा र रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
