हामी नयाँ भूमिका जान्छौँ – प्रचण्ड
८ बैशाख काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनबाट तलदेखि माथिसम्म नेतृत्वमा युवालाई अवसर दिने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै असोजसम्ममा महाधिवेशन गर्ने तयारी भइरहेको बताए।
उनले भने, ‘महाधिवेशनबाट युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताहरूले पनि नयाँ भूमिकामा प्रस्तुत हुने गरी छलफल गर्दैछौं। हामीले ६ महिनाभित्र महाधिवेशन गर्छौँ। र पार्टीलाई पुनर्गठन गरेर जान्छौँ।’ उनले वामपन्थी र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको विकल्प नभएको बताए। पार्टीमा तीन पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको लाइन रहेको बताए। उनले अहिले मन्त्री र प्रधानमन्त्री हुन नपरेपछि पार्टीलाई सच्याएर अगाडि बढाउने अवसर प्राप्त भएको बताए।