हामी विद्रोहको नजिक छौँ – महन्थ ठाकुर


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३
988
SHARES

१० बैशाख काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संरक्षक एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन् । सीमानाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासीनताका आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनी समेत उनले दिए ।

“मन्त्रीज्यूहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन,” उनले भने, “हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौँ ।”बुधबार (वैशाख ९) बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीले ‘तजबिजी अधिकार’को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताए । कानुन स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उनको आरोप छ ।

“अहिले गरिब जनता आधा किलो चामल, पिठो, नुन र कुकिङ तेलका लागि सीमापारि जान बाध्य छन्,” उनले भने, “त्यही एक–दुई किलो सामान ल्याउँदा पनि सीमामा लुटिने र खोसिने डर छ ।”

विगतमा काम र खाद्यान्नका निम्ति मानिस नेपाल आउने गरेको स्मरण गर्दै उनले हाल स्थिति उल्टो भएको बताए । सीमा सुरक्षाका नाममा महिला सबैभन्दा बढी प्रताडित भइरहेका भन्दै उनले आक्रोश व्यक्त गरे ।“सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि ट्याक्सको दायरा भन्दै घण्टौँ कुराउने, अनुहार हेरेर व्यवहार गर्ने र मानिसहरूलाई अपमानित गर्ने काम भइरहेको छ,” उनले भने, “खाद्यान्न र नुन–तेलका लागि भारतीय बजारको बाध्यता छ ।”

नेपाल र भारतबीचको ‘रोटीबेटी’को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकामा उनले आपत्ति जनाए । विवाहका गाडीहरूलाई रोक लगाउने र जन्तीबरियातलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको उनले उल्लेख गरे ।वर्तमान मन्त्रिपरिषद्लाई ‘हेलिकोप्टर सरकार’को संज्ञा दिँदै उनले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै नभएको बताए ।अध्यक्ष ठाकुरले सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गरे ।