सुकुम्वासी बस्ती हटाउनेबारे सरकारलाई सोध्नू – रास्वपा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ११ २०८३
2K
SHARES

११ बैशाख काठमाडौं । दुईतिहाइ बहुमत प्राप्त सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुम्वासी बस्ती हटाउनेबारे पार्टीलाई जानकारी नभएको बताएको छ । शनिबार (वैशाख १२)देखि नै सुकुम्वासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको बेलामा सत्तामै रहेको दलले सरकारलाई नै थाहा हुने बताएको हो । रास्वपा प्रवक्ता मनिष झाले सुकुम्वासी समस्याबारे सरकारलाई नै सोध्न आग्रह गरेका छन् । सुकुम्वासी हटाउने विषयबारे पार्टीमा छलफल भएको छ कि छैन, रास्वपाको धारणा के हो ? भन्ने  प्रश्नमा झाले भने, “त्यो विषयबारे सरकारका प्रवक्तालाई नै सोध्नू ।”

फागुन २१ गतेको प्रतिनिधिसभा चुनावअघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा पुगेर कसैले डोजर चलाउँछ भने आफू सबैभन्दा पहिला छाती थाप्न जाने आश्वासन दिएका थिए । शनिबारदेखि बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध सुकुम्वासीहरू प्रदर्शनमा उत्रिसकेका छन् । उनीहरूले सभापति लामिछानेलाई छाती थाप्न आउन आग्रह गरिरहेका छन् ।