कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
१४ वैशाख काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा आङदेम्बेलाई दलको नेता चयन गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
सोमबारै यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट दलको नेता आङ्देम्बेलाई बनाउने विषयमा सहमति जुटाइएको थियो ।त्यसअघि, उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिन लगाएर सर्वसम्मतको कसरत गरेको थियो ।पार्टी सभापति गगन थापाले उनलाई दलको नेता चयन भएको प्रमाणपत्र हस्तान्तरण गरिसकेका छन् ।