दुग्ध किसानको रोकियो १४ करोडभन्दा बढी भुक्तानी
१५ बैशाख हेटौँडा । मकवानपुरमा दुग्ध उद्योगले लामो समयदेखि भुक्तानी नगर्दा सयौँ किसान आर्थिक दबाबमा परेका छन् । करिब चार वर्षदेखि केही उद्योगले भुक्तानी नगरेका जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।जिल्लामा सञ्चालित ११ डेरी उद्योगले किसानको ठूलो रकम अर्थात् १४ करोड ३५ लाख ६३ हजार ४९० रुपैयाँ रोकेर राखेका संघका व्यवस्थापक दामोदर अधिकारीले बताए ।
किसानलाई शुभ डेरी इन्डस्ट्रिजले मात्र करिब ६ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ । गायत्री डेरी इन्डस्ट्रिजको बक्यौता चार करोड ४९ लाख ४४ हजार ८७३ रुपैयाँ छ । अरू उद्योगले पनि लाखदेखि करोडसम्मको भुक्तानी रोकेको संघले जनाएको छ ।
संघका अनुसार, स्यार्सेकालिका डेरीले एक करोड ६ लाख १६ हजार ४६३ रुपैयाँ तिर्न बाँकी छ । कल्पवृक्ष डेरीले ६५ लाख ५७ हजार ३३६ रुपैयाँ भुक्तानी रोकेको छ । यस्तै, पवित्र मिल्क एन्ड फुड्स प्रालिले ४३ लाख ३१ हजार ४५, एसके डेरी उद्योगले २५ लाख २८ हजार ७०७ रुपैयाँ किसानलाई दिन बाँकी छ ।
भुटनदेवी डेरी फर्मले २२ लाख ३३ हजार ७७९, अनुश्री सप्लायर्सले १९ लाख ७५ हजार ९९२, कविता डेरी तथा जुस उद्योगले १२ लाख ४२ हजार ५६६, नारायणी मिल्क एन्ड फुड्सले ३२ हजार ६१० र पिज्जा कटर प्रालिले सात लाख २३ हजार ७१९ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संघले जनाएको छ ।
दूधको रकम समयमै नपाउँदा किसान दैनिक जीवनयापनमै समस्यामा परेका छन् । उत्पादन लागत बढ्दै र आम्दानी नहुँदा धेरै किसान ऋण लिन बाध्य भएका छन् । केहीले पशुपालन व्यवसाय नै छाड्ने अवस्था आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल बताउँछन् ।
मकवानपुरमा करिब ११ हजार किसान दुग्ध व्यवसायमा आबद्ध रहेका उनले जानकारी दिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले उद्योगहरूलाई समयसीमा तोकेको छ । सोमबार (वैशाख १४) भएको सर्वपक्षीय छलफलपछि आउँदो असार मसान्तभित्र कम्तीमा ६५ प्रतिशत बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिइएको छ । असोज मसान्तसम्म सबै रकम चुक्ता गर्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सहमति कार्यान्वयन नभए कानुनी कारबाही अघि बढाइने चेतावनी दिए । प्रशासनले किसानको हक सुनिश्चित गर्न कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।
उद्योगीले भने आफ्ना पक्षमा विभिन्न कारण देखाएका छन् । शुभ डेरी इन्डस्ट्रिजका प्रमुख ज्ञानराज लामाले अन्तर्राष्ट्रिय बजारको प्रभाव र उत्पादन चक्र लामो भएकाले भुक्तानीमा ढिलाइ भएको बताए ।
गायत्री डेरी इन्डस्ट्रिजका सञ्चालक सृजन कोइरालाले निरन्तरको व्यापार घाटा र लागत मूल्य असन्तुलनका कारण समस्या आएको जिकिर गरे ।