एउटा बाख्रा चोरीको विवादले लियो ४८ जनाको ज्यान


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १६ २०८३
817
SHARES

१६ बैशाख काठमाडौं । पाकिस्तानको उत्तरी सिन्धस्थित शिकारपुर जिल्लामा पछिल्लो ९ वर्षदेखि ‘जुनेजो’ र ‘कल्होडा’ समुदायबीच जारी विवादमा कुल ४८ जनाको मृत्यु भएको छ ।  दुवै समुदायले एक–अर्काका लागि आफ्नो इलाकालाई ‘प्रवेश निषेध क्षेत्र’ मा बदलेका थिए । यो भीषण शत्रुताको सुरुवात नौ वर्षअघि एउटा बाख्रा चोरीको आरोपबाट भएको थियो ।  स्थानीयका अनुसार, कथित चोर कल्होडा समुदायको थियो ।  बाख्रा धनीले तीन जनालाई माफ गरिदिए तर एक जनालाई माफ गर्न अस्वीकार गरे । यही सानो इख पछि गएर सशस्त्र संघर्षमा बदलियो ।

बीबीसीको टोली कल्होडा समुदायको गाउँ ‘मीरल कल्होडा’ पुग्दा त्यहाँको दृश्य निकै डरलाग्दो थियो । गाउँका बैठक कोठाहरूमा आरपीजी मोर्टार,एलएमजी र एसएमजी जस्ता अत्याधुनिक युद्धक हतियारहरू भित्तामा झुन्ड्याइएका थिए । गाउँको सुरक्षाका लागि माटो र बालुवाका बोराहरूले मोर्चाहरू बनाइएका थिए, जहाँ २४ सै घण्टा पहरा दिइन्थ्यो ।

हफिज कल्होडाका अनुसार, झगडा चरम उत्कर्षमा पुगेका बेला हतियार र सुरक्षाका लागि मात्रै मासिक ५० लाख सम्म खर्च हुने गथ्र्यो ।  विद्यालयहरू बन्द भए, व्यापार व्यवसाय चौपट भयो । मानिसहरू आफ्नो इलाकाबाट बाहिर निस्कन डराउँथे ।

सबै पुरुषहरूविरुद्ध मुद्दा दर्ता भएका छन्, जसका कारण उनीहरूलाई विरोधी पक्षको आक्रमणको मात्र होइन, प्रहरी गिरफ्तारीको पनि उत्तिकै डर थियो ।  कुर्बान अली जुनेजोले यस शत्रुतामा आफ्नो भाइ र दुई भतिजा गुमाए । उनको समुदायका मात्रै २३ जना यस झगडाको शिकार भइसकेका छन् ।

पछिल्लो महिना यी दुवै पक्षले एक स्थानीय पञ्चायत  मार्फत आफ्नो विवाद सुल्झाउने प्रयास गरेका छन् ।  यसपछि अहिले पहरा केही खुकुलो पारिएको छ र मानिसहरूमा शान्तिको आशा पलाएको छ ।   यद्यपि, अदालत र कानूनी प्रणाली जीवितै रहँदा रहँदै स्थानीय पञ्चायत  जस्तो अनौपचारिक माध्यमबाट फैसला गरिनुमा कतिपयले प्रश्न पनि उठाएका छन् ।