चिनफिङलाई ट्रम्पले भने– तपाईं एक महान् नेता हुनुहुन्छ


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३१ २०८३
1.2K
SHARES

३१ बैशाख काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकालाई प्रतिद्वन्द्वी नभएर साझेदार बन्न आग्रह गरेका छन् ।  बेइजिङमा दुई देशका राष्ट्रप्रमुखबीच करिब दुई घण्टा चलेको उच्चस्तरीय वार्ताअघि उनले यस्तो धारणा राखेका हुन् । यसको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई महान् नेताका रूपमा चित्रण गर्दै यी दुई महाशक्ति राष्ट्रबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताएका छन् । “चीन र अमेरिकाबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुनेछ । हाम्रो भविष्य उज्ज्वल हुनेछ । चीनप्रति मेरो मनमा धेरै सम्मान छ,” ट्रम्पले भने, “तपाईंले गर्नुभएको कामको म प्रशंसा गर्छु । तपाईं एक महान् नेता हुनुहुन्छ भनेर म यो कुरा सबैसँग भन्छु । कहिलेकाहीँ मानिसलाई मैले यसो भनेको मन पर्दैन, तर पनि म भनिरहन्छु ।”

“हामीले एक–अर्कालाई लामो समयदेखि चिन्छौँ । वास्तवमा, हाम्रो दुई देशबीचका कुनै पनि राष्ट्रपति र राष्ट्रपतिबीचको यो सबैभन्दा लामो सम्बन्ध हो । यो मेरा लागि सम्मानको कुरा हो । हाम्रो सम्बन्ध शानदार रहेको छ । हामी एक–अर्कासँग राम्ररी मिलेर बसेका छौँ,” ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय बैठकलाई सम्बोधन गर्दै भने, “जब–जब कुनै कठिनाइ आयो, हामीले त्यसको समाधान निकाल्यौँ । म तपाईंलाई फोन गर्थें र तपाईं मलाई । जब पनि कुनै समस्या भयो, हामीले त्यसलाई निकै छिटो सुल्झायौँ र हामी सँगै एउटा शानदार भविष्यतर्फ अग्रसर छौँ ।”

आफ्नो प्रतिनिधिमण्डलमा विश्वकै सबैभन्दा ठूला, प्रतिष्ठित र उत्कृष्ट व्यवसायीहरू सामेल रहेको उनले बताए । “उनीहरू व्यापार र व्यवसाय गर्न उत्सुक छन् । हाम्रो तर्फबाट पनि यो पूर्ण रूपमा पारस्परिक हुनेछ,” उनले भने, “म हाम्रो छलफलका लागि धेरै उत्सुक छु । यो एक ठूलो छलफल हो । कतिपयले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो शिखर सम्मेलन भनिरहेका छन् ।”

‘हामी साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइनौँ’ : सी जिनफिङ 
चिनियाँ राष्ट्रपति सीले मिलेर अघि बढे वैश्विक चुनौतीहरूको सामना गर्न सक्ने बताए । विश्वलाई स्थिरता प्रदान गर्न सकिने उनको भनाइ छ ।

“हामी हाम्रा दुवै देशका जनताको कल्याण र मानवताको भविष्यका लागि हाम्रो द्विपक्षीय सम्बन्धको उज्ज्वल भविष्य निर्माण गर्न सक्छौँ भन्ने प्रश्न इतिहास, विश्व र जनताका लागि अत्यन्त महत्त्वपूर्ण छ,” उनले भने, “यी हाम्रा समयका प्रश्न हुन्, जसको उत्तर हामीले प्रमुख देशका नेताका रूपमा दिनुपर्नेछ ।”

उनले चीन र अमेरिकाबीच दुई देशबीच मतभेदभन्दा साझा हितहरू बढी रहेको बताए । एकको सफलता अर्कोका लागि अवसर भएको उनको भनाइ छ ।

“एउटा स्थिर द्विपक्षीय सम्बन्ध विश्वका लागि राम्रो कुरा हो । चीन र अमेरिका दुवैलाई सहयोगबाट लाभ हुनेछ र टकरावबाट हानि हुनेछ,” उनले भने, “हामी साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइनौँ । हामीले एक–अर्काको सफलता र समृद्धिमा सहयोग गर्नुपर्छ । नयाँ युगमा प्रमुख देशहरूबीच सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्ने सही मार्ग खोज्नुपर्छ ।”

द्विपक्षीय बैठक
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय बैठक गरेका छन् । दुवै नेताबीचको वार्ता सकिएको छ । यो वार्ता करिब दुई घण्टासम्म चलेको थियो, जुन सुरुमा तय गरिएको समयभन्दा दोब्बर लामो हो ।

“नौ वर्षपछि चीनमा तपाईंलाई स्वागत छ । पूरा विश्वले हाम्रो यो बैठकलाई नियालिरहेको छ । वर्तमान समयमा, एक शताब्दीमै नदेखिएको अभूतपूर्व परिवर्तन विश्वभर तीव्र गतिमा भइरहेको छ,” सो अवसरमा चिनियाँ राष्ट्रपति सीले भने, “अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर तथा उथलपुथलपूर्ण बनेको छ । विश्व एउटा नयाँ मोडमा आएर उभिएको छ ।”  आज साँझ राष्ट्रपति ट्रम्प आफ्नो सम्मानमा आयोजना गरिने राजकीय भोजमा सहभागी हुने कार्यक्रम बताइएको छ । बीबीसी