बजेट मध्यमवर्ग तथा व्यवसायीको हितमा छ – पूर्वअर्थमन्त्री खतिवडा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १५ २०८३
2K
SHARES

१५ जेठ काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा वर्गीय पक्षधरता देखिएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्र अनुसार नै आएको उनले बताए ।  “बजेट उहाँहरुको आफ्नो नीति कार्यक्रम, बाचा पत्र अनुसारै ल्याउनुभयो,” उनी भन्छन्, “मध्यम वर्ग, व्यवसायी वर्गको हितमा काम गर्ने भन्नुभएको थियो त्यही अनुसारकै हो । वर्गीय पक्षधरता चाहिँ देखिन्छ ।”

करको दायरामा माथिल्लो सिलिङ घट्दा उच्च आय हुने वर्ग खुसी हुने अवस्था बनेको र करको दायरामा नै आउन नसकेकालाई केही प्रबन्ध नथपिएको खतिवडा बताउँछन् ।

“एउटा वर्ग त उत्साही हुन्छ नि । उच्च आय हुने वर्गको करको माथिल्लो सिलिङ घट्यो खुसी नै हुने भए । करको दायरामै आउन नसकेकाहरुको लागि त यो केहि पनि त भएन नि फेरि,” उनले बाह्रखरीसँग भने, “उनीहरुको लागि त सामाजिक सुरक्षा का प्रबन्ध पनि थपिएनन् ।”

किसानलाई थप सहुलियत नभएको उनले बताए । व्याज दर सस्तो र करका दर कम हुँदैमा व्यावसायिक वातावरण सुध्रिनहाल्ने उनको भनाइ छ । “व्यवसायीहरूलाई उत्साही गरेपछि लगानी बढाउँछन् र त्यो लगानीको आधारबाट आर्थिक वृद्धि हुन्छ रोजगारी बढ्छ भन्ने सामान्य सिद्धान्तको कुरा होला । तर, व्यवसायीले ब्याज दर सस्तो हुँदैमा, करका दर कम हुँदैमा यहाँ ह्वात्त लगानी बढाइहाल्छन्, व्यावसायिक वातावरण सुध्रिहाल्छ भन्ने स्थिति छैन,” खतिवडाले भने ।

व्यवसायको भौतिक सुरक्षातर्फ भने बजेटमा ध्यान नदेखिएको उनको ठम्याइ छ । “व्यवसायको मूलतः भौतिक सुरक्षा, जेनजी आन्दोलनको क्रममा भएको नोक्सानी, राज्यले दिनुपर्ने व्यावसायिक संरक्षण ती कुराहरूमा खासै बजेटमा अर्थमन्त्री बोल्नु भएन । त्यसकारण यो कर प्रोत्साहनले मात्रै काम गर्ला के भन्ने मलाई लाग्छ ,” खतिवडाको ठम्याइ छ ।

राज्यले हस्तक्षेप गर्नुपर्ने वर्गको उत्थानका लागि धेरै कुरा नसमेटिको बुझाई उनको छ । खतिवडाले बाह्रखरीसँग भने, “जसको उत्थानको लागि राज्यले थप हस्तक्षेप गर्नु पर्ने छ  । त्यो वर्गको उत्थानको कुरा चाहिँ धेरै समेटिएको छैन भन्ने मलाई लाग्छ ।”

खतिवडा बजेट कार्यान्वयन त्यति सहज देख्दैनन् । “राजस्वमा छुटैछुट दिनु भएको छ । राजस्वकै लक्ष्य कसरी पुग्छ ? विदेशी सहायता कार्यान्वयनका यी समस्या यावत छँदै छन् । दाताको प्रतिबद्धता भए पनि खर्च गर्ने क्षमता अब कसरी उहाँहरूले विकास गर्न सक्नुहुन्छ ?,” उनी भन्छन्, “कर्मचारीको मनोबल कसरी बढाउन सक्नुहुन्छ तलब मात्रै बढाएर पुग्ने हो कि वृत्ति विकासका अरू अवसर पनि दिने हो ।”