जेठमा वैदेशिक लगानी प्रतिबद्धता २ अर्ब २९ करोड
२ असार काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/०८३) को ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ४७ अर्बभन्दा माथि आएको छ ।उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिमा अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।
२०८३ जेठ महिनामा मात्रै २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । विभागका अनुसार जेठ महिनामा कुल १८६ वटा परियोजना स्वीकृत भएका छन् । ११ महिनामा सो लगानी प्रतिबद्धता कुल ९१४ कम्पनीमार्फत आएको हो । २०३ कम्पनी अप्रुभल रुट र ७११ कम्पनी अटोमेटिक रुटबाट दर्ता भएका थिए ।
जेठ महिनामा स्वीकृत १८६ परियोजनामध्ये १८३ वटा साना स्केलका उद्योग छन् भने ३ वटा मध्यम स्केलका छन् । ठुला स्केलका उद्योग भने यो महिना एउटा पनि स्वीकृत भएको छैन । यी उद्योग सञ्चालनमा आउँदा १ हजार २२१ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।