भेनेजुएलामा भूकम्प : १० हजारभन्दा बढी मानिसको मृत्यु भएको हुन सक्ने अनुमान
११ असार काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्पबाट ठूलो संख्यामा मानवीय क्षति र व्यापक विनाशको आशंका गरिएको छ । मृतकको संख्या १० हजारभन्दा बढी हुन सक्ने सम्भावना ४४ प्रतिशत रहेको युनाइटेड स्टेट्स जियोलोजिकल सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै संकटकालको घोषणा गरेकी छन् । सम्बोधनका क्रममा उनीसँगै गृहमन्त्री र नेसनल एसेम्बलीका प्रमुख एवं उनका भाइ जर्ज रोड्रिगेज पनि उपस्थित थिए ।
राष्ट्रपतिले राहत र उद्धार कार्यको रेखदेख गर्न एक सैन्य जनरललाई जिम्मेवारी सुम्पेकी छन् । रोड्रिगेजले यसै वर्षको जनवरीदेखि अन्तरिम रूपमा देशको नेतृत्व गरिरहेकी छन् ।उनले सम्बोधनका क्रममा भेनेजुएलाका जनतालाई एकजुट रहन अपिल गरिन् । भूकम्पमा आफ्ना प्रियजन गुमाएका मानिसप्रति संवेदना पनि प्रकट गरिन् । मृतकको संख्या भने यकिन भइसकेको छैन ।
भूकम्पबाट भएको गम्भीर क्षतिका कारण भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलबाट सार्वजनिक सुरुआती भिडियोमा मानिस गल्लीहरूमा भागिरहेका देखिएको थियो । भूकम्पबाट कैयौँ भवन भत्किएका छन् । मानिस आफ्नो घरबाट बाहिर निस्किएर सडकमा आएका छन् । भूकम्प आएका बेला भेनेजुएलामा राष्ट्रिय बिदा मनाइँदै गरेकाले धेरैजसो मानिस आफ्नै घरमा उपस्थित रहेका हुन सक्ने अनुमान छ ।
भूकम्प स्थानीय समयानुसार बेलुका ६ः०४ बजे आएको थियो । भूकम्पको केन्द्रविन्दु काराकासको पश्चिममा अवस्थित मोन्टाल्बान क्षेत्रमा थियो । केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।