खामेनीको अन्त्येष्टिमा आक्रमण गरिए कडा जवाफ दिनेछौँ – इरान
१९ असार काठमाडौं । इरानले आफ्ना पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिका-इजरायलले आक्रमण गरे उचित जवाफ दिइने चेतावनी दिएको छ। बीबीसी मनिटरिङका अनुसार इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका, इजरायल तथा उनीहरूका सहयोगीलाई खामेनीको अन्त्येष्टिअघि इरानविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिएका हुन्।इरानको सर्वोच्च सैन्य कमान्डका प्रमुख अब्दुल्लाहीले भनेका छन्, ‘अन्त्येष्टि समारोहले इरानी जनता अली खामेनीको मृत्युको ‘बदला’ लिन दृढ रहेको देखाउनेछ।
यो जानकारी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध तस्निम समाचार एजेन्सीले जुलाई २ मा आफ्नो टेलिग्राम च्यानलमा सार्वजनिक गरेको छ।
अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामी शक्तिशाली इरानका शत्रुहरू विशेष गरी अमेरिका, जियोनिस्ट शासन (इजरायल) र यसका क्षेत्रीय तथा क्षेत्रबाहिरका सहयोगीहरूलाई कुनै पनि गलतफहमी वा गलत काम नगर्न चेतावनी दिन्छौँ।’उनले इरानको भूभाग वा क्षेत्रविरुद्ध कुनै पनि ‘धम्की वा आक्रामक कारबाही’विरुद्ध ‘पछुतो लाग्ने कठोर कदम’ चालिने दाबी गरेका छन्।
तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिला उपप्रमुख मोहम्मद अमिन तवाक्लिजादेहका अनुसार, ‘जुलाई ४, ५, ६, ७ र ८ मा आयोजना गरिने अली खामेनीको अन्त्येष्टिमा राजधानी तेहरानमा १ करोड ५० लाख देखि २ करोडसम्म मानिस सहभागी हुने गरी तयारी भइरहेको छ।’