हामी विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहन्छौ : प्रधानमन्त्री ओली
जेष्ठ १८ काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन् । नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ‘स्काउटले दक्षता, योग्यता, अनुशासन र देशभक्तीपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘स्कउाटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ ।’
नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भू-भाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । ‘हामी युवाहरुलाई सक्षम बनाउनु चाह्न्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन । उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तीको थलो बनाउनु पर्दछ ।’