कस्तो छ सर्वोच्च नेता किम जोङ उनलाई,
१६ वैशाख काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित छन् या छैनन् ? अहिले विश्वभरका मानिसहरु यो प्रश्नको विश्वसनीय जवाफ खोजिरहेका छन् । व्यापक सञ्जाल भएका प्रख्यात अन्तर्राष्ट्रिय मिडियाहरुले ‘एस’ र ‘नो’ मा जवाफ दिन सकिरहेका छैनन् । चारै ध्रुवका अन्तरकुन्तर सूचनाहरु राख्ने शक्तिशाली देशका खुफिया एजेन्सीहरुले पनि यथार्थ पत्ता लगाउन सकेका छैनन् ।
किमको स्वास्थ्यलाई लिएर विभिन्न चर्चा र अफवाह फैलिन थालेको धेरै दिन भइसक्यो । अहिले त उनको मृत्यु भइसकेको समाचारसमेत सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । यसमा उत्तर कोेरियाको सरकारी निकायले कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् । मिडिया पनि मौन छन् । यसले झन् शंसय बढाएको छ ।उत्तर कोरिया एउटा बन्द समाज र नियन्त्रणमुखी शासन व्यवस्था भएको कम्युनिष्ट देश हो । त्यहाँभित्रका महत्वपूर्ण सूचनाहरु पनि सरकारले नचाहिकन बाहिर आउँदैनन् ।
बेलायतको एउटा वेबसाइटले विभिन्न स्रोतहरुको हवाला दिँदै किमको शनिबार राति निधन भएको समाचार आइतबार प्रकाशित गरेको छ । तर, समाचारको प्रस्तुति विश्वसनीय छैन । उदाहरणका लागि विश्वभरका देशहरुमा कोरोनाबाट संक्रमित र मृत्यु भएकाहरुको दैनिक आँकडा सार्वजनिक भइरहेका छन् । तर, उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि संक्रमित नभएको दावी गरेको छ । उक्त दावीलाई अपत्यार गरे पनि झुटो सावित गर्ने तथ्य कसैले पेश गर्न सकेका छैनन् ।
इन्टरनेट र सामाजिक सञ्जालले संसारलाई नै एउटा सानो गाउँजस्तो बनाइदिएको छ । संसारको एउटा कुनामा कुनै ठूलो घटना भयो भने केही मिनेटमै अर्को कुनासम्म भाइरल हुन्छ । राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई जरो आयो भने पनि क्षणभरमै समाचार फैलिन्छ । यस्तो विश्व परिवेशमा एउटा अमूक देशको सर्वोच्च व्यक्ति जिवित छ वा छैन भन्ने नै अन्योल हुनु हदैसम्मको गोपनीयता र अपारदर्शिता हो ।तर, उत्तर कोरियाली जनता यही शासन प्रणालीमा अभ्यस्त छन् । वाक् स्वतन्त्रताको माग गर्दै त्यहाँ कुनै आन्दोलन वा विद्रोह भएको छैन । आर्थिक र सामरिकरुपमा देश बलियो छ । बाहिर जति आलोचित भए पनि उत्तर कोरियाका जनतामा किम लोकप्रिय रहेको विश्वास गरिन्छ ।