कर्णालीमा लकडाउन खुकुलो
३० वैशाख, काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो ।बैठकले यसअघि सिल गरिएका नाकामा आवतजावतलाई कडाइ मात्रै गर्ने निर्णय गरेको छ भने कृषि तथा विकास निर्माणको क्षेत्रमा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ ।
समितिको निर्णयले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई प्रदेश मुकामा आउनजान सहज भएको छ ।किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउनेछन् ।महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत् गर्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न पाइने छ ।कर्णालीमा हालसम्म कोरोना संक्रमित नभेटिए पनि जोखिम उच्च रहेको भन्दै यसअघि एक साताका लागि प्रदेश सरकारले सिल गरेको थियो ।