कालापानीबाट भारतीय सुरक्षाकर्मीहरु तत्काल फिर्ता जानुपर्छ : प्रबक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
8.8K
SHARES

५ अषाढ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबक्ता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कालापानीबाट भारतीय सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्ने बताएका छन्।बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल गर्दै उनले भने , ‘हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ । त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ ।’

साथै नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा समेत ब्यक्त गरेका छन् ।श्रेष्ठले भारतको हेपाहा प्रवृतिका कारण वार्ता हुन नसकेको बताए । नेपालको भूमि मिचेर नक्सा सार्वजनिक गरेको भारतलाई नेपालले पटक पटक कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेपनि भारतले नचाहेको उनले जानकारी दिए ।

‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले भने, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ ।’ छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारतलाई आग्रह गरे ।

१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा दुई देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेको भन्दै श्रेष्ठले यी आधार नै लिम्पियाधुरा नेपालकै भएको प्रमाणको रुपमा उल्लेख गरे ।