काँग्रेसकाे सान्दर्भिकता सकिएकै हाे ?
१० साउन काठमाडौँ । प्रजातान्त्रिक समाजबाद नै आफ्नो मुल आदर्श घाेषणा गरेर बिस २०१२ काे विरगंज महाधिवेशनले पार्टीको आर्थिक मार्ग तय गरेकाे थियाे । त्यतिवेलाकाे साेभियत रुसकाे साम्यवाद,युराेपियन देशहरुकाे समाजवादी धार, अमेरिकाकाे खुला अर्थतन्त्र अर्थात प्रजातान्त्रिक पूँजीवाद , चिनकाे साम्यवादका सांस्कृतिक क्रान्ति पछाडिकाे माओ शासन काल र भारत भर्खर भर्खर स्वतन्त्र भएकाे साे अवसरमा नेपालकाे सबैभन्दा ठुलाे राजनीतिक दलकाे आर्थिक राजनीतिक आदर्शले नेपाल माथि विदेशी शक्ति राष्ट्रहरुले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले कुनै असर नपाराेस भनेर,गहिराे अध्ययन तथा विश्लेषण सहित वीपी काेइरालाले नै साे प्रस्ताव ल्याएर पार्टीकाे एक मतले पारित भएकाे विचार थियाे त्याे । हुन सक्थ्याे,प्रजातान्त्रिक समाजबादकाे वाटाेमा देश ६५ वर्ष देखि हिडेकाे भए अहिले विश्वकाे एउटा सुन्दर र सम्पन्न देश वन्थ्याे हाेला ।
मानिसहरु आफ्नाे व्यक्तिगत स्वतन्त्रतामा रमाउदै सम्पन्न र सुविधाले पूर्ण जीवन विताई रहेका हुन सक्थे । छाक कसरी टार्ने , आङ कसरी ठाक्ने र घाम पानी हावाबाट कसरी बाँच्ने भनेर आजका झण्डै ३५ प्रतिशत नागरिक रुदै वस्नु पर्ने थिएन पनि हाेला ।नागरिकको आजकाे चाहना के नै छ र ? चाहनाहरु फैलिन पाएनन् । विभिन्न प्रणालीको परिक्षणमा राष्ट्रले ७० वर्ष व्यतीत गर्याे । नेपाली काँग्रेस पार्टीसंग वैचारिक द्वन्द्वका लागि राणा शाहीको सहयाेगमा २००४ सालमा नै स्थापित नेपाल कम्युनिस्ट पार्टी , राजा महाराजा तथा छिमेकी देश समेतकाे पालन पाेषणमा अहिले राज्यको वागडाेर समाल्न थालेकाे नै पनि २६ वर्ष भई सक्याे । देशकाे प्रजातान्त्रिक भजिएकाे समय ३० वर्ष हाे,यसमा राजाकाे प्रत्येक्ष ४ वर्षे शासन हटाउदा २६ वर्ष दलिय शासन चले । त्यस मध्ये १३ वर्ष त कम्युनिस्टहरुले एकलौटी शासन गरे भने जम्मा १० वर्ष मात्र सत्ताबाट बाहिर छन् ।
तथापि आज पनि उनीहरु देशकाे प्रगतिकाे बाधक काँग्रेस भनेर जनतालाई वुझाई रहेका छन् । शासक वर्गकाे विराेध गर्छन् काँग्रेसका नाममा । अाज पनि नेपालका कम्युनिस्टहरु सत्तामा वसेका छन् तर सत्ताका छाैं भन्न र स्विकार्न तयार छैनन् । जनतालाई आज पनि सत्तामा कम्युनिस्टले शासन गर्न नपाएको , धेरै समय शासन काँग्रेसले गरेकाे भनेर वाेल्छन् लेख्छन् । उनीहरुको वुद्दिजिवि भनिनेहरु गाेयवल्स शैलिमा प्रचार प्रसारमा खटाइएका छन् । याे कसरी भईराखेकाे छ । प्रजातान्त्रिक कालकाे ६५% समय सत्तामा वसेकाे पार्टीले सत्तामा रहन पाईएन,३५% समय सत्ताकाे नेतृत्व गरेकाे पार्टीले देश विगार्याे । वेराेजगारी वढायाे । भ्रष्टाचार वढायाे । भनेर प्रचार गर्दछन् । उनीहरुले जनतालाई मात्र हाेइन , छिमेकी देश चिन तथा भारतका शासक , क्रिश्चियन मिसनका देशहरु, जापान, युराेप ,अमेरिका तथा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई समेत वुझाएका छन् ; देशकाे पिछडा पनाकाे कारण नेपाली काँग्रेस नै हाे भनेर ।याे किन भई रहेछ ? काँग्रेसका नेतृत्व ,यस प्रकारकाे षड्यन्त्र मुलक प्रचारबाजीलाई चिर्न सकेका छैनन् ।
यसकाे पछाडि सभापति भएकाहरुकाे मात्र हात हुन्छ भनेर वुझ्नु अवश्य गलत हुनेछ । काँग्रेसमा निरिहता छ । यसमा हजारौं कमजोरीहरु छन् । यसकाे विचारमा पुनताजगी आवश्यक छ । अवकाे काँग्रेसले आफुलाई सुधारेर मात्र राष्ट्रकाे नेतृत्व गर्न सक्दैन । हाे,कम्युनिस्टकाे दर्शन नै झुटकाे दर्शन हाे । तथापि जनतामा यसलाई राम राज्य स्थापनाकाे मार्ग भनेर भ्रमित पारिएकाे छ । भ्रममा राखिएको छ । यसलाई चिर्न नेकाले सकेकाे छैन,नेकाका नाममा धन, पद , पदवी लिनेहरु यसकाे हितका काम गर्न तयार छैनन् । उनीहरु विभिन्न गुट निर्माणमा उकेरा लगाएर त्यसबाट फाइदा लिन तल्लिन छन् । पहिलाे पुस्ताका नेताहरुकाे देहावसान भई सकेकाे अवस्थामा दाेस्राे र तेस्रो पुस्ता आफु वाचुञ्जेल पदमा रहने र आफ्नाे शेख पछि आफ्नाे सन्तानलाई पार्टीको मुख्यालयमा स्थापित गर्ने षड्यन्त्रमा व्यस्त छन् । चाैंथाे पुस्ताका मानिसहरु विचार विमर्श , दृष्टिकोण निर्माण र राष्ट्र हितका कार्यक्रम मा ध्यान दिन सकेका छैनन् । आफु अगाडिको पुस्ताले छाड्ला वा दान देला र लिउँला भनेर आशामा नेताका दैलाे चाहर्ने एकाथरि छन् भने अर्का थरि पैसा कमाउने र त्यहि पैसाले पार्टीका पदहरु किन्ने हत्याउने दाउमा लागि रहेका छन् ।
दुर्भाग्य , पार्टी र राष्ट्र हितमा लाग्न चाहने कयौं नेता कार्यकर्ता पार्टीको मुल प्रबाहमा समाहित हुन सकेका छैनन् । पैसा, तिघ्रा , बैँस र उत्ताउलाे रवाफले त्याे शालिनता र चिन्तामा रमाउने चिन्तक युवाहरु फितला देखिन्छन्। अत: काँग्रेसकाे सान्दर्भिकता सकिएकाे घाेषणा हुनबाट जाेगाउन, विद्दमान ४ पुस्ता इमानदारीपूर्वक कार्य गर्नु जरुरी छ । पार्टीको व्यवहारमा सिण्डिकेट प्रणालीलाई खारेज गरेर पूर्ण अनुशासन र लाेकतान्त्रिक पार्टी प्रणाली स्थापित हुनु जरुरी छ । यसका लागि धेरै उपायहरु छन् ; नभएका हाेईनन् । काँग्रेसका मानिसले साँच्चै चाहे भने आमुल परिवर्तन सम्भव छ । इमानदार नयाँ पुस्ताकाे सहज र प्रभावकारी प्रवेश बिना काँग्रेस ,काँग्रेस रहदैन । त्यसका लागि एउटा छाेटाे लेख काफि अबश्य हुदैन । आबश्यकता हुदा विस्तृत छलफल गर्न पनि सकिनेछ , चाहिएकाे पक्ष भनेकाे काँग्रेस पुननिर्माण प्रतिवद्दता हाे । कन्भिक्सन हाे ।- युवराज बस्ताकोटी लेखक नेपाली काँग्रेसका वैचारिक युवा नेता तथा शिक्षाविद् हुन् । लेख लेखककाे निजि विचार हाे ।