दाहाल–ओलीबीच तीन घण्टा वार्ता
१९ साउन काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ ।साउन १३ को ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित बैठक राखेपछि टुटेको सम्वाद आइतबार पुनः सुरु भएको छ ।
छलफलका लागि प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराए ।वार्तामा दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । प्रचण्डले स्वच्छाले दुई मध्ये एक पद छाडेर निकास दिन आग्रह गरेका थिए । तर ओलीले ठाडै अस्वीकार गरेका छन् । र, नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् ।बालुवाटार वार्तामा सहभागी नेम्वाङ्गले भने सम्वाद सकारात्मक रहेको बताएका छन् । ‘दुई अध्यक्षबीच समझदारी बनाएर निकास खोज्नुपर्छ भन्नेमा उहाँहरु सहमत हुनुहुन्छ’ उनले भने, ‘भोलि एउटा निष्कर्षमा पुग्छ भन्ने आशा पलाएको छ ।’