स्थगित स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरौ -प्रवक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०७७
5.2K
SHARES

२५ साउन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गर्न आग्रह गरेका छन् । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पार्टीभित्र उत्पन्न विवादले अनिश्चितकालका लागि स्थगित छ ।शनिबार साझा सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले भने, ‘म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।’

त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्नुपर्ने उनको भनाइ छ । उनले लेखेका छन्, ‘बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।’ यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने श्रेष्ठले बताए । उनले अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्षमा पुग्नुपर्ने बताए ।

पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको बिषय होइन । ‘पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं,’ श्रेष्ठले लेखेका छन् ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा नभइ बैचारिक,‬ ‪सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सबै कुरा सचिवालयमा छलफल गरेर मात्र स्थायी कमिटीमा जानुपर्ने पक्षमा छन् । तर अर्का अध्यक्ष पुष्पककमल दाहाल प्रचण्डसहितका बहुमत पक्षका नेताहरू स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।अध्यक्षद्वयबीचको सहमतिपछि स्थायी समिति बैठक सुचारु गर्ने भनिए पनि उनीहरुबीच मंगलबारबाट संवादहीनताको अवस्था सिर्जना भएको छ ।