उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि अनुसन्धानकालागि टोली परिचाल


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
5.4K
SHARES

१४ भदौ कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ ।

दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो ।जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । ‘महामारीको संकेत छैन’, उनले भने, ‘रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’

उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्ल्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ ।निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।