भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामा कोरोना पुष्टि


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७
6.1K
SHARES

१६ भदौ चितवन । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् ।उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूका आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै समस्या थिएन ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्युु भएको बताए ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना छन् ।