गोरखा अस्पतालमा शनिबार मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि
२१ भदौ काठमाडौँ । गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । ‘शुक्रवार उहाँको परिवारका सदस्यमा कोरोना देखिएपछि शनिवार बिहान उहाँको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौ,’ जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘आज रिपोर्ट पोजेटिभ आयो ।’
सूचना अधिकारी ढकालका अनुसार उनी मस्तिष्कघातकी बिरामी थिइन् । ‘ब्रेन ह्यामरेज भएर दुई हप्ताअघि भरतपुर अस्पतालमा उपचार गर्न लगिएको रहेछ, ब्रेनमा धेरै रगत जमेको रिपोर्टमा देखियो, फेरि शरीरको एक पाटा नचल्ने गरी प्यारालाइसिस पनि भएको रहेछ,’ ढकालले भने ।उनको शव आइसियूमै रहेको उनले जानकारी दिए ।शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।