विद्युत प्राधिकरणको निमित्त प्रमुखमा कोइराला
३१ भदौ काठमाडौं। नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण भित्रका वरिष्ठ उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।
अहिले प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा सबैभन्दा सिनियर कोइराला प्राधिकरणको अर्थ निर्देशनालयका प्रुमख समेत हुन्।
उसो त कोइराला भन्दा वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भएपनि उनी प्राधिकरण स्वामित्वको एनइए इन्जिनियरिङ कम्पनीमा कार्यरत छन्। जुन प्राधिकरण भन्दा बाहिर रहेको संस्था मानिन्छ।
को हुन् कोइराला ?
विसं २०२० मा भोजपुरमा जन्मिएका लेखनाथ कोइरालाले २०४५ सालमा सहायक लेखा अधिकृतका रुपमा विद्युत प्राधिकरणमा सेवा सुरु गरेका थिए । उनी चार्टर्ड अकाउन्टेन्ट (सीए) पनि हुन् ।
प्राधिकरणले नै आफ्ना कर्मचारीहरुमध्येबाट मनोनयन गरेर उनलाई चार्टर्ड अकाउन्टेन्ट अध्ययनका लागि पठाएको थियो । कोइरालाले भारतको इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स (आइसीएआई) बाट २०६४ सालमा सीए कोर्स पूरा गरेका हुन् । त्यसअघि उनले २०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए पनि गरेका थिए ।
कोइराला प्राधिकरणका तर्फबाट चिलिमे जलविद्युत, माथिल्लो तामाकोशी, तनहुँ हाइड्रोपावर, मध्य भोटेकोशी हाइड्रोपावर लगायत प्राधिकरणका सहायक कम्पनीहरु र नेपाल-भारत ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापित कम्पनी ‘पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड’ (४०० केभी) मा पनि संचालक समित सदस्य (निर्देशक) छन् ।