मन्त्रिपरिषद् पुनर्गठन हुदै
४ असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।
बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । ‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’
वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
बैठकपछि एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘आजको छलफल हेर्दा दुई कुरा प्रष्ट भएको छ, मन्त्रिपरिषद् पुनर्गठन हुन्छ र सबै मन्त्री हट्दैनन् । तर कोको हट्ने, कोको मन्त्री बन्ने, कहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने जस्ता विषय टुंगिन बाँकी नै छ ।’
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।
अर्का एक सचिवालय सदस्यका अनुसार मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै पनि हुनसक्छ, दशैं पछाडि पनि धकेलिनसक्छ । यो सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ ।
साथै मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग पनि छलफल हुने उनले बताए ।