मन्त्रिपरिषद्को बैठक सकियाे
११ असोज काठमाडौ । दिउसो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आजका लागि प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएका थिए ।
बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषद्मा कुनै प्रसंग नआएको उनको भनाइ छ । मन्त्रिमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।
उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे पनि चर्चा चलेको छ ।मन्त्रालय टुक्राउने विषयमा कुनै निर्णय नभएको ती मन्त्रीले बताए ।