काठमाडौँमा उपत्यकामा १८१ आइसीयू र ७६ भेन्टिलेटर
२३ अशोज काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसीयू र ७६ भेन्टिलेटर भएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले ८२ आइसीयू शैय्या र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए।
उनका अनुसार अझै ९९ आईसीयू र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन्। अहिलेसम्म २३५ आइसीयू र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन। ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेका छन्। मुलुकभर दुई हजार ६०० आइसीयू र ९०० भेन्टिलेटर रहेका छन्।
बिहीबार काठमाडौँ उपत्यकामा दुई हजार ५४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन। उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन्। प्रवक्ता डा गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए।
आकस्मिकसहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको बताए। उनले सामान्य लक्षण र लक्षण विहीन सङ्क्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरेका छन्। मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ । रासस