दाहालको दौडधुप
२ कार्तिक काठमाडौ । कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्। उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग परामर्श गरे। त्यस्तै उनले पार्टीभित्र आफू निकट नेताहरूसँग पनि अविश्वासको प्रस्ताव फिर्ता गराउने उपायका विषयमा छलफल गरे।
दाहालले भने पार्टी एकताको भावाना अनुसार कर्णाली प्रदेशमा पूर्वमाओवादी केन्द्रले मुख्यमन्त्री पाएको स्मरण गराउँदै त्यसविरुद्ध पूर्वएमाले खेमा प्रस्तुत हुँदा एकताको मर्ममा ठेस पुग्ने बताएका थिए। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको छलफलमा दाहालले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु ठीक नभएकाले त्यसलाई फिर्ता लिन पहल गर्न ओलीलाई आग्रह गरेका थिए।
स्रोतका अनुसार दाहालले कर्णाली प्रदेशमा पार्टीभित्र देखिएको विवाद तत्काल समाधान नभए अन्य प्रदेशमा पनि यसको असर पर्न सकने र पार्टी झन् संकटमा फस्ने बताएका थिए। उनले विवादको सही व्यवस्थापन नगरिए पार्टी एकतामा पनि गम्भीर धक्का लाग्न सक्ने बताएका थिए। ओलीलाई भेट्न जानुअघि दाहालले आफ्नै निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए। अविश्वास प्रस्तावमा नेपालनिकट सांसदले पनि हस्ताक्षर गरेका छन्। – नागरिक दैनिकबाट ।