‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा नेपालका सन्तोष साह उपविजेता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ३ २०७७
7.2K
SHARES

३ पुस काठमाडौं। बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सहभागी सन्तोष साह उपविजेता बनेका छन्। बिहीबार बेलुका सम्पन्न प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जित्दा नेपाली सेफ उपविजेतामा सीमित रहे। संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धाको ग्र्याण्ड फिनालेसम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि थिए।

ग्र्याण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बनेका हुन्। उनको प्रस्तुतिअघि उनकै बारेमा बीबीसीले तयार पारेको एक भिडियो बजाइएको थियो जसमा उनले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। ग्र्याण्ड फिनालेको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेंडाको गिदी लगायतका परिकार पकाएर चरेशको थालमा पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए।

संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो। सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोष देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन्।

१५ वर्षकै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन्। यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि प्रतिष्ठित मिसेलिन स्टार रेष्टुरेन्टहरुबाट समेत अनुभव बटुलेका छन्। नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने बताएका छन्।

प्रतियोगिताको सुरुदेखिकै एपिसोडबाट निर्णायकहरुको उत्साहजनक प्रतिक्रिया पाउँदै आएका सन्तोषलाई धेरैले उपाधिकै दाबेदारका रुपमा चर्चा गरेका थिए।
‘उपाधि हात नपरे पनि म कत्ति दु:खी छैन’, प्रतियोगिताको अन्तिम नतिजापछि लन्डनमा अन्नपूर्णसँग प्रतिक्रिया दिँदै उनले भने, ‘किनकी मैले कहिले पनि मास्टर सेफलाई एक प्रतियोगिताको रुपमा मात्र लिएको छैन। यो त मेरो लागि विश्वमाझ हाम्रो नेपाली खाना चिनाउने एउटा अवसर थियो। जसलाई सक्दो सदुपयोग गर्ने मौका पाएकोमा म निकै खुशी छु।’मास्टर सेफको यात्रामा बिताएका हरेक क्षणलाई यादगार मान्ने सन्तोषले आफ्नै आमालाई खाना बनाउँदाको एपिसोड सबैभन्दा विशेष बनेको बताउँछन्। संसारभरका नेपालीबाट प्राप्त माया र शुभेच्छालाई पनि आफूले कहिल्यै भुल्न नसक्ने उनले बताएका छन्।