८० करोडको “कुमारी ईक्वीटी फण्ड” फागुण १४ बाट निष्काशन हुने


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७
12.3K
SHARES

५ फागुन काठमाण्डौं । कुमारी बैंकको प्रवद्र्धन एवं कुमारी क्यापिटलद्धारा व्यवस्थापन हुने गरी १० वर्षे बन्दमुखि योजना अन्तर्गत ८० करोडको “कुमारी ईक्वीटी फण्ड” यही फागुण १४ गतेबाट निष्कासन हुने भएको छ । रु दश अकिंत दरको आठ करोड इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात एक करोड २० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी छ करोड असी लाख इकाई सर्वसाधारणहरुमा बिक्री गरिने कुमारी क्यापिटलले जनाएको छ । योजना ब्यवस्थापक रहेको कुमारी क्यापिटल लि.ले इक्रा नेपाल बाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ । यस फण्डको बिकी तथा निष्कासन स्वयं कुमारी क्यापिटलले गर्नेछ ।

यो योजना सुर्य प्रसाद कोइराला, भरत राज पोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजित कुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।
योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्ने लक्ष राखेको छ । नेट एसेट भ्यालु ः रु १० बाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात) सम्म रु २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।
लाभाशं र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल ः २२ प्रतिशत प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्रबजारबाट प्राप्त हुने लाभ लिन सकिने छ ।

निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।
यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम एक सय इकाई र अधिकत ८० लाख इकाई सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।