प्रचण्ड-नेपाल समूहले बोलायो संसदीय दलको बैठक
१२ फागुन काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपा प्रचण्ड-माधव नेपाल समूहले बैठक बोलाएको हो। बुधबार अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएका छन्। बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ। प्रचण्ड–माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ। सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।