अब एकता सम्भव छैन : प्रचण्ड–माधव


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७
6.5K
SHARES

काठमाडौं, १२ फागुन । नेकपा प्रचण्ड–माधव समूहले आज बसेको बैठकले यथास्थितिमा ओली समूहसँग एकता नहुने बताएको छ ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट बसेको स्थायी कमिटी बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने बताएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी एकतामा प्रहार गर्ने, गुट र फुटमा रमाउने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मलोचक ढंगले नयाँ रुपमा प्रस्तुत नगरेसम्म यो खाली कुरा मात्र हुन्छ ।’

बैठकले मुल पार्टीमा फर्किएर आफ्नो जिम्मेवारी सम्हाल नेताहरुलाई आग्रह गरेको छ ।स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहर गरेको छ र, यसले संविधान र लोकताको रक्षा गरेको प्रचण्ड माधव समूहको ठहर छ । संसद विघटनको असंवैधानिक कदम चाल्ने प्रधानन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने भन्दै यो समूहले नभए संविधान अनुसार अगाडि बढ्ने बताएको छ ।

प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन । त्यसो नभएको अवस्थामा सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अगाडि बढ्छ ।’