चैत १५ गते बाट त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने
काठमाडौं, १२ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अग्रिम मिति समेत तय भएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ ।
तर, उडान-अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको उनले जानकारी दिएका छन । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ । अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढेको हो ।
प्रवक्ता कर्णका अनुसार विमानस्थल भने अब रातको साढे १२ बजे बन्द हुनेछ । बिहान साढे ६ बजे मात्र खुल्नेछ । यसबीचमा रातको समयमा उडान-अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानाएको छ ।
अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ ।