अब विप्लवलाई वार्तामा ल्याउँछौं – प्रधानमन्त्री
१६ फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित विप्लव समूहलाई चाँडै वार्तामा ल्याइने बताएका छन् । आज झापाको दमकमा पूर्वाधार शिलान्यास तथा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘देशले विकासको गति लिँदै छ । शान्ति स्थापनामा पनि धेरै ठूला प्रगति भइरहेको छ ।
अब विप्लव समूहलाई पनि चाँडै वार्तामा ल्याइन्छ, वार्ताद्वारा समस्या समाधान गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अबको केही दिनमै तपाईंहरूले घरमै बसी बसी सरकारले विप्लवसँग वार्ता भएको देख्नु हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षभित्र नेपाल विकसित राष्ट्रका रूपमा स्तरोन्नति हुने बताएका छन् । प्रधानमन्त्री ओलीले अहिले नेपालका कुनै पनि सडकमा खाते उपनामले चिनिने बालबालिका नरहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले राहतका कार्यक्रम ल्याउने र वृद्धवृद्धाको सुरक्षा र सम्मानका लागि अहिले सरकारले दिँदै आएको भत्तालाई पनि बढाइने घोषणा गरेका छन् ।
‘अहिले अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालले इज्जतदार उपस्थिति जनाउन सफल भइरहेको छ । नेपाल स्तोरोन्नतिमा सिफरिस भएको छ । शान्ति र विकासको सूचकमा नेपालले राम्रो प्रगति गरेको छ । देशभित्र पनि धेरै प्रगतिका काम गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अब खोलो देखाइदिनुस् पुल बन्छ । बाटो देखाइदिनुस् पक्की बाटो बन्छ ।’