राजिनामा नदिए ओलीको दर्दनाक अवस्था हुन्छ – नेता भट्टराई
१७ फाहुन जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजिनामा नदिए उनी दर्दनाक अवस्थामा पुग्ने बताएका छन् ।
सुरक्षित अवतरणका लागि प्रतिनिधिसभा बैठकअघि नै पदबाट राजिनामा दिन आग्रह समेत गरेका छन् ।प्रेस संगठन नेपाल, प्रदेश नम्बर दुईको भेलालाई आइतबार जनकपुरमा संबोधन गर्दै नेता भट्टराईले पदबाट राजिनामा नगरे प्रधानमन्त्री ओलीको जीवन नै दर्दनाक र वियोगान्त हुने चेतावनी दिएका हुन् । उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसके प्रतिनिधिसभाले आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गरे र आफ्नै मलामी गएजस्तो हुने बताए ।‘प्रतिनिधिसभा भंग गर्ने सन्की प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने
प्रतिनिधिसभाले मृत्यु पत्रमा सहि गर्नेछ । प्रतिनिधिसभा आफ्नो मलामी आफै जानेछ । त्यस कारण पनि ओलीलाई हटाउनेछु ।’, नेता भट्टराईले भने, ‘त्यसअघि राजिनामा दिन म आग्रह गर्छु । त्यसो नगरे व्यक्तिगत रूपमा केपी ओलीको जीवन दुखान्त, दर्दनाक र वियोगान्त हुनेछ । म त्यो वियोगान्तमा नपुग्न अपिल गर्दछु ।’