ढल्कोमा संचालित रिक्सामा एनसीसी बैंकको क्यूआर कोड सेवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०७७
25.4K
SHARES

२६ चैत्र काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले काठमाडौँ महानगर पालिका अन्तर्गत ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गरे ।क्यूआर कोड मार्फत विद्युतीय भुक्तानीलाई प्रवर्दन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी बैंकले विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । त्यसका लागि बैंकले श्रमिक नेपाल यातायात अटो प्रा.लि.सँग सहकार्य गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक कडेलले विद्युतीय भुक्तानी अहिलेको आवश्यकता बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वस्थ र पारदर्शी बैंकिङ कारोबारमा पनि यसले सघाउ पुर्याउने छ ।’ प्रदुषणमुक्त सवारी अटो रिक्सामा प्रदुषणमुक्त भुक्तानी सुरुवात भएको कडेलको भनाई छ । साथै यस प्रकारका कार्यक्रमले देशको समग्र शुसासनमा समेत सकारात्मक प्रभाव पार्दछ ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश राज अर्यालले सवारी साधनमा क्यूआर कोड राख्दा ग्राहकहरूले नगद बोक्ने झन्झट नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्राहकले तिरेको पैसा एनसीसी बैकमा जम्मा हुन्छ । त्यो पैसा एकातिर सुरक्षित हुन्छ भने अर्कोतिर व्याज समेत आउँछ ।’ अर्यालले क्यू.आर.कोडको प्रयोग व्यापक बन्दै गएको र भोलिका दिनमा रिक्सा चालकले पानीका बोतल किन्नदेखि तरकारी किन्नसमेत क्यूआर कोडको सहायता लिनसक्ने बताए । चालकहरूलाई बिना धितो ऋण दिन पनि एनसीसी बैंक तयार रहेको उनले बताए ।

काठमाडौं महानगरपालिका १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धरले चालकहरू आफ्नो अनुशासनमा रहनुपर्ने र सम्बन्धित निकायले पनि चालकको गन्तव्य क्षेत्र विस्तार गर्नुपर्ने बताए । उनले हाल १५० को संख्यामा ढल्कुमा विद्युतीय रिक्सा सञ्चालनमा रहेको बताए ।श्रमिक नेपाल यातायात अटो प्रा.लि.का अध्यक्ष डम्बर रानाका अनुसार पाईडलबाट सुरु गरेका व्यवसायी अटो रिक्सामा प्रवेश हुँदासम्म कुनै निकायको सहयोग नपाएको बताए । उनले एनसीसी बैंक आफूहरूको सहयोगी बनेर आएको बताए ।रानाले भने, ‘पाइडल मारेर रिक्सा चलाउनुपर्ने चालक आज विद्युतीय रिक्सासम्म बल्ल–बल्ल आईपुगेका छन् । कुनै पनि वित्तीय संस्थाको सहयोग चालकहरूलाई भएको थिएन् । अहिले एनसीसी बैंकको सहयोग पाएका छौं । हामीले स्वदेशमा उत्पादन हुने बिजुली प्रयोग गरी प्रदुषणमुक्त रिक्सा चलाएका छौं । यसलाई पर्यटन क्षेत्रमा आवद्ध गराउन जरुरी छ ।’

नेपाल ट्रेड युनियन महासंघका सचिव सोम तामाङ्ले श्रमिक वर्गलाई लक्षित गरी एनसीसी बैंकको क्यू.आर.कोड कार्यक्रम ल्याइएकाले यसबाट चालक र ग्राहक दुवै लाभान्वित हुने बताए ।देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।