अहिले घट्यो तरकारीको भाउ : कुनको मूल्य कति ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
7.4K
SHARES

२३ वैशाख काठमाडौं। दोस्रो लहरको कोरोना संक्रमण तीव्र बन्न नदिन सरकारले वैशाख १६ देखि निषेधाज्ञा गरेपछि केही दिन हरियो तरकारी तथा मासुको मूल्य छोइनसक्नु थियो। पर्याप्त आयात हुँदासमेत तरकारीको भाउ अकासिएको थियो।

काठमाडौं उपत्यकाबाट धेरै मान्छे आआफ्नो जिल्ला गएपछि यहाँ खपत घट्दा पछिल्लो समय तरकारीको मूल्यमा गिरावट आएको छ। आयात परिमाण पनि घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

तरकारीको भाउ निरन्तर घट्ने क्रममा रहेको समितिको भनाइ छ। ‘सुरुका दिनमा ९ सयदेखि साढे ९ सय टनसम्म तरकारी कालीमाटीमा भित्रिएको थियो। अहिले क्रमशः घट्दै गएर मंगलबार साढे ६ सय र बुधबार करिब ५ सय टन भित्रिएको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘आयातको परिमाण घट्दा पनि मूल्य बढेको छैन। घटिरहेको नै छ ।’

दुई साताअघि तने बोडी होलसेलमै प्रतिकिलो १३५ रुपैयाँ थियो। बुधबार घटेर प्रतिकिलो ३७ रुपैयाँमा झरेको समितिको तथ्यांक छ। मटरकोसा प्रतिकिलो १५५ बाट घटेर ९५ रुपैयाँ भएको छ। घिउ सिमीको मूल्य पनि १३० बाट २८ रुपैयाँ भएको समितिले जनाएको छ। तीते करेला किलोको ८७ बाट घटेर १८ रुपैयाँ, हरियो फर्सी ५५ बाट घटेर २८ रुपैयाँ भएको छ । ‘मुख्यतः खपतको अवस्था कमजोर देखियो । निषेधाज्ञाका कारण होटल, रेस्टुरेन्ट बन्द छन् । लाखौं सर्वसाधारणले उपत्यका छाडेका छन्,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘केहीले निषेधाज्ञाअघि नै नबिग्रने तरकारी ठूलो परिमाणमा सञ्चय गरे, जसले गर्दा अहिले भाउ घटिरहेको छ ।’

यसबाहेक अहिले तरकारी उत्पादन हुने सिजन पनि हो । किसानको बारीमा सिमी, बोडी, लौका, भिन्डी, गोलभेंडालगायत तरकारी पर्याप्त छन्। यसैले पनि मूल्य घटिरहेको समितिले जनाएको छ।

समितिका अनुसार दुई साताअघि भिन्डीको मूल्य होलसेलमा प्रतिकिलो ८७ रुपैयाँ थियो। बुधबार प्रतिकिलो ३७ रुपैयाँ थियो। ८७ पर्ने ब्रोकाउली घटेर ५५ रुपैयाँ, ६५ पर्ने घिरौंला २८ रुपैयाँ, ७७ पर्ने हरियो खुर्सानी ५५ रुपैयाँ भएको छ । होलसेलमा ७५ पर्ने गाँजर घटेर ५५ रुपैयाँ, ३३ को बन्दा घटेर २७ रुपैयाँ र ५५ पर्ने स्थानीय काउलीको मूल्य ४५ रुपैयाँ भएको समितिले बताएको छ।

उपत्यकामा तरकारी खपत नहुँदा स्वदेशी किसानलाई भने मर्का परिरहेको छ । केही किसानले नोक्सानी बेहोरेरै सस्तोमै बिक्री गरिरहेका छन् । ‘ठूलो बजार भएर कालीमाटीमै ल्याउने चलन हो । यहाँ खपत नहुँदा किसानलाई समस्या भयो । कतिपय किसानको तरकारी बारीमै बिग्रने अवस्था देखियो,’ श्रेष्ठले भने ।

यद्यपि होलसेलसरह खुद्रामा भने घटिसकेको छैन । खुद्रा पसलपिच्छे मूल्य फरक पाइन्छ। समितिका अनुसार अहिले भारतबाट पनि तरकारी आयात भइरहेको छ। भारतबाट मुख्यतः प्याज, आलु, कागती, फलफूललगायत आयात भएको जनाइएको छ ।

भारतबाट आयात भएको प्याजको मूल्य भने बढेको छ । दुई साताअघि प्रतिकिलो ३६ पर्ने सुकेको प्याज अहिले बढेर ३९ रुपैयाँ पुगेको छ । रातो आलु पनि ३३ बाट बढेर ३९ रुपैयाँ पुगेको छ । ‘स्वदेशी उत्पादनसँगै भारतबाट पनि तरकारी आइरहेको छ,’ समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने, ‘स्वदेशमा पनि तरकारी उत्पादन बढेको छ । कोरोनाले तरकारी बिक्री हुन नसकेको गुनासो बढ्दो छ ।’ कालीमाटीमा काभ्रे, पाँचखाल, धादिङ, मकवानपुर, चितवन, तनहुँलगायत जिल्लाबाट तरकारी आयात भइरहेको छ।

यसैबीच ब्रोइलर कुखुराको मासुको मूल्य दुई सातामा एक सय रुपैयाँ घटेको छ । कुखुराको खपत ८० प्रतिशत घटेकाले मूल्य निरन्तर ओरालो लागेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । ‘दुई साताअघि संघले प्रतिकिलो ४ सय ५० रुपैयाँ मूल्य तोकेको थियो । बुधबारको दर ३ सय ५० रुपैयाँ छ,’ उनले भने, ‘निषेधाज्ञाले होटल व्यवसाय बन्द भए । जसले गर्दा बजार पनि बिथोलियो ।’