आगामी बजेट कोरोना केन्द्रित
१ जेठ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट कोरोना संक्रमणको सामना गर्ने गरी ल्याउने बताएका छन् ।
शुक्रबार पदभार ग्रहण गरे लगत्तै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।
बजेट तयारीको अन्तिम चरणमा रहेको र कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट आउने अर्थमन्त्री पौडेलले दावी गरे ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्नका लागि सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने मन्त्री पौडेलले प्रतिवद्धता जनाए । कोरोना संक्रमितहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने पनि उनले बताए ।