प्रधानमन्त्री र राष्ट्रपतिले नेपाललाई फिजी बनाउन लागे – संविधानविद् भीमार्जुन
१० जेठ काठमाडौं । अब प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउन लागेको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन । नागरिकता अध्यादेश जारी गरेर नेपाललाई फिजी जस्तै बनाउन खोजेको आचार्यले आरोप लगाएका हुन ।
संविधानविद् भीमार्जुन आचार्यले आज बिहान फेसबुकमा आफ्नो धारणा लेखेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि हामीले विरोध गर्यौं ।
उनको गुट र कार्यकर्ता हाम्राविरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए।’
ओलीले सत्ता प्राप्तीका लागि जस्तोसुकै सम्झौता पनि गर्न तयार रहेको र यस्तो स्थिति देशका लागि अत्यन्तै खतरापूर्ण हुने आचार्यले भनेका छन्, ‘भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान। एउटा नेताभन्दा देश ठूलो हो। होसियार हौं। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ।’