रामदेवसँग १० अर्ब भारु क्षतिपूर्ति माग


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
5.3K
SHARES

१३ जेठ एजेन्सी। अहिले भारतका योगगुरु रामदेव यतिबेला विवादमा छन्। उनले कोरोना भाइरसलाई जोडेर एलोपेथी र एलोपेथी डाक्टरहरुविरुद्ध अभिव्यक्ति दिएको विषयले विवादमा परेका हुन्।

रामदेवको अभिव्यक्तिले आफूहरुको मानमर्दन भएको र क्षति पुगेको भन्दै इन्डियन मेडिकल एशोशिएसनले १० अर्ब भारु क्षतिपूर्ति माग गर्ने चेतावनी दिएको छ। १५ दिनभित्र अभिव्यक्तिप्रति क्षमा माग्न भन्दै अन्यथा क्षतिपूर्ति माग गर्ने चेतावनी दिएको इन्डियन एक्सप्रेसले लेखेको छ।

छ पृष्ठ लामो सूचनामा इन्डयन मेडिकल एशोशिएसन उत्तराखण्डले २ हजार एलोप्याथीका डाक्टरहरुको मानमर्दन गरेको उल्लेख गरेको छ। योगगुरुको अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै प्रत्येक डाक्टरलाई ५० लाख भारु बराबर २ हजारका लागि १० अर्ब भारु क्षतिपूर्ति माग्ने चेतावनी दिइएको हो।

रामदेवले कोरोना भाइरस नीको पार्ने भन्दै उत्पादन गरेको कोरोनिल किट नामक औषधीबारे समेत प्रश्न उठाइएको छ। उनले यो औषधीको विज्ञापन गर्दै एलोपेथीको औषधी प्रयोग गर्दा लाखौं मानिस कोभिड १९ ले मृत्युवरण गर्न पुगेको अभिव्यक्ति दिएका थिए। भारतका स्वास्थ्यमन्त्री हर्षवद्र्धनले समेत यो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका थिए।