नेता भुसालमाथि नेता थापाको यस्तो प्रहार
१३ जेठ काठमाडौ । सत्तारुढ दल नेकपा एमालेका नेता घनश्याम भुसालमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीमा सधैँ गडबडी गरेको भन्दै कटाक्ष गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत भुसाल सधैँ पार्टी फुटाउने गतिविधिमा लागेको आरोप लगाएका छन् । भुसालले जहिले पनि पार्टी प्रमुखका विरुद्धमा पार्टीको दोस्रो खेमाका नेताहरुलाई साथ दिँदै गडबडी गरेको थापाको आरोप छ ।
भुसाल झलनाथ खनाल महासचिव हुँदा सिपी मैनालीको पक्षमा, मदन भण्डारीको विचारविरुद्ध सिपी-झलनाथको पक्षमा, माधव नेपालविरुद्ध वामदेव-सिपी, माधवविरुद्ध झलनाथ र केपी ओलीविरुद्ध माधव-प्रचण्ड समूहमा लागेको थापाको आरोप छ ।
सधैँ सिद्धान्तहीन गुटको पछि लागेर भुसालले पार्टीमा गडबडी गर्ने गरेको थापाको आरोप छ । यसअघि, वामदेव गौतमले पार्टी फुटाउँदा उग्र सहयोगी बनेर दुई वर्ष नबित्दै तेस्रो धारको अभियानकर्ता बनेको पनि थापाले आरोप लगाए । पार्टीमा सधैँ गडबडी गर्ने गरेका भुसालको इतर पक्षमा लाग्नु नै पार्टी बनाउने मौलिक बानी हो भन्दै थापाले प्रश्न पनि गरेका छन् ।
