नेपाल पक्षको कदम आत्मघाती – मुख्यमन्त्री पोखरेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
5.8K
SHARES

१३ जेठ काठमाडौ । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका एमाले नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गरेको दोस्रो पटकको प्रतिनिधिसभा विघटनको बचाउ गरेका छन् ।  नेता पोखरेलले ‘प्रतिनिधिसभा विघटन यथार्थः मेरो दृष्टिकोण’ शीर्षकमा सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै विभिन्न कारणले प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था आएको दावी गरेका छन् ।

पोखरेलले आफ्नै पार्टीका नेता माधव नेपाललगायतको विद्रोहलाई वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था नरहेको दावी समेत गरेका छन् । ‘राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो’, पोखरेलको भनाइ छ ।

साथै उनले नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने बताएका छन् ।

उनले नेपाली राजनीति सत्ता विरोधी मानसिकताबाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति बढ्दो क्रममा रहेको भन्दै विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहँदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो तर  त्यसबाट नेपाली राजनीति नै बहुआयामिक द्वन्द्वको शिकार बन्नु परेको जनाएका छन् ।

‘अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ’ पोखरेलले जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभाबाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प नरेको समेत बताएका छन् ।