खाँटी एमाले देउवाको पक्षमा भन्दा लज्जाबोध हुन्छ – मुख्यमन्त्री पोखरेल
१४ जेठ काठमाडौं । अहिले नेकपा (एमाले) २०५४ सालमा झैँ विभाजनको दिशातिर उन्मुख हुँदा नेताहरूबीच आपसमा छेडखानी बढ्न थालेको छ ।
कारबाहीमा परेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावलसहितका नेताले नयाँ आन्दोलन विकास गर्नेबारे बहस, विमर्श सुरु गरेका छन् । खनाल–नेपाल समूहभित्र अहिले नै नयाँ पार्टी दर्ता गर्ने कि, संसद् विघटनको फैसला कुर्ने भन्ने बहस छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरू भने असन्तुष्ट समूहमाथि व्यंग्य गर्न थालेका छन् । उनीहरूले एमाले भएर प्रमुख प्रतिपक्षी तथा चिर प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर अदालतमा मुद्दा लड्न गएको भन्दै कटाक्ष गर्न थालेका छन् ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा ओली पक्षका प्रभावशाली नेता शंकर पोखरेलले हिजो मात्रै अदालतमा मुद्दा लड्न जानु आत्मघाती हुने बताएका थिए । उनले अहिलेको संसद् विघटन प्रक्रियासंगत र संविधानसम्मत भएको पनि ठहर गरेका थिए ।
शुक्रबार उनले ‘खाँटी एमाले देउवाको पक्षमा’ भनेको सुन्दा आफैँलाई लज्जाबोध हुने भन्दै कटाक्ष गरेका छन् । उनले यो धारणा आफ्नो टुटरमार्फत् व्यक्त गरेका हुन् ।