उपत्यकामा जेठ २० पछि निषेधाज्ञा सहज बनाउने तयारी हुदै
१६ जेठ काठमाडौं । उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ । निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, “वैशाख २० गतेदेखि जेठको पहिलो सातासम्म अवस्था निकै भयावह थियो । अक्सिजन, बेड, अस्पताल नपाएको गुनासो व्यापक थियो । अहिले ती समस्या समाधान भएका छन् ।” समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको उनले बताए । तर, चैतको अन्तिम साता वा वैशाखको पहिलो साताबाटै निषेधाज्ञा गरेको भए संक्रमण रोक्न अझै सहज हुने उनको भनाइ छ ।
एक साताअघिसम्म उपत्यकामा संक्रमण दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको पराजुली बताउँछन् ।
जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।निषेधाज्ञा जारी राखेरै स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज बनाउनेतर्फ आफूहरु सकारात्मक रहेको पराजुली बताउँछन् । उनले भने, “संक्रमणको दर घट्दै गए केही सहज पक्कै हुन्छ । तर, के–के हुन्छ, अहिले भन्न सकिँदैन ।”
निषेधाज्ञा बढ्दै जाँदा कतिपयले नागरिकलाई कहिलेसम्म थुनेर राख्ने हो भनेर आउने गुनासाहरुबारे पनि आफू जानकार रहेको पराजुली बताउँछन् । उपत्यकामा तीन जिल्लामध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमै छन् । यस्तोमा अझै नागरिक सचेत हुनुपर्ने सुरक्षा अधिकारीहरु बताउँछन् ।