जालझेलमा नफसौं, नयाँ पार्टी गठन गरौं – नेता खनाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
8.3K
SHARES

२० जेठ काठमाडौं।आज  नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको जालझेलमा फस्न नहुने भन्दै नयाँ पार्टी गठनमा ढिलाइ गर्न नहुने बताएका छन्।

बिहीबार आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल भेलामा नेता खनालले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै नयाँ पार्टीमार्फत नयाँ आन्दोलनको थालनी गर्नुपर्ने बताएका हुन्।

ओलीले वार्ताका नाममा अल्झाउने काम गरिरहेकोले उनको जालझेलमा फस्न नहुने उनको भनाई छ। ‘पार्टीभित्र समस्या हुँदैमा तपाईंहरू निराश हुनुपर्ने अवस्था छैन। यदाकदा आन्दोलनमा संकट पैदा हुन्छ। पार्टी मिल्यो भने राम्रै हुन्छ। तर, ओली सुध्रिँदैनन्। दक्षिणपन्थी भासमा लागेका ओलीले पार्टीलाई ध्वस्तै बनाउनेछन्। त्यसैले उनको जालझेलमा हामी फस्नुहुँदैन,’ खनालले बैठकमा भनेका थिए।

आफूले निर्माण गरेको पार्टीबाट निष्कासित भएको कुरा हास्यास्पद भएको उनको भनाइ थियो। ‘यो ओली गुटको कारबाही हो। हामीले बनाएको पार्टीबाट हामीलाई नै निष्काशन गर्ने कुरा हास्यास्पद छ। हामी कम्युनिस्ट आन्दोलनबाट विचलित भएका छैनौं। हामीले बनाएको पार्टीबाट हामीलाई नै निकाल्ने हैसियत कसैले राख्दा पनि राख्दैन,’ खनालले कार्यकर्ताहरूलाई भने।

पार्टीको आकार ठुलो भए पनि बाटो गलत लिँदा ओलीको नेतृत्वमा एमालेले कुनै उपलब्धि आर्जन गर्न नसक्ने खनालको दाबी थियो। ‘पार्टी जतिसुकै ठूलो भए पनि गलत बाटोमा गएपछि त्यसले कुनै उपलब्धि आर्जन गर्न सक्दैन।

केपी ओलीको नेतृत्वमा पार्टी आन्दोलन दक्षिणपन्थी भासमा गइसक्यो। यसले कम्युनिस्ट चरित्र होइन लोकतान्त्रिक चरित्र पनि आत्मसात् गरेको छैन,’ खनालको भनाइ उद्धृत गर्दै एक नेताले भने।