यस्तो एजेण्डा सहित नेपाल पक्षको बैठक जारी
२१ जेठ काठमाडौं। अहिले माधवकुमार नेपाल पक्षधर नेकपा एमालेका केन्द्रीय सदस्यहरूको बैठक पनि जारी छ। बिहान ११ बजेबाट सुरु बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ।
बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए।बाँकी नेताहरूले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ। पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्ने गरी बैठक चलिरहेको छ। बैठकमा दुई खाले विचार आएकाले नेता नेपालले आफ्नो पक्षका बटम लाइन सुनाउने सम्भावना छ। एकथरी नेताहरूले २०७५ जेठ २ मा फर्किँदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाधडी हुने विचार व्यक्त गरेका छन्।
अर्काथरी नेताहरू भने केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा छ। ओली पक्षसँगको अनौपचारिक तहमा भइरहेको वार्तालाई औपचारिकतामा बदल्न वरिष्ठ नेता नेपाल र खनालसहित ११ सांसद, प्रदेशका नेता र सांसदहरूसहित कार्यकर्तामाथि गरिएको कारबाही एकमुष्ट फिर्ता लिइनुपर्ने उनीहरूको सर्त छ।