धेरै समय अल्झिन हुँदैन, एक स्टेप चाल्नै पर्छ – नेता नेपाल
२३ जेठ काठमाडौँ। सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ।
पछिल्लोपटक अनौपचारिक संवादमा रहेका दोस्रो पुस्ताका नेताहरूले मात्रै कुराकानी गरेर एकताको सम्भावना नदेखिएकाले नेपालसँगै बसेर गहन छलफल गर्नुपर्ने निष्कर्ष सो पक्षले निकालेको हो।
ओली पक्षले सकेसम्म नेपालसँगै औपचारिक–अनौपचारिक कुराकानी गरेर पार्टी एकतालाई जोगाउन सकिने भन्दै नेपालसँगको संवादलाई महत्त्व दिएको हो। ‘हामी निरन्तर संवादमै छौँ। पार्टी विभाजन हुनुहुँदैन भन्ने पक्षमा पार्टीका सबै तह छन्। त्यस कारण संवादलाई नै जोड दिइएको हो। आशा गरौँ, संवादले निकास निस्कन्छ,’ उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने। नेपाल पक्षको भर्चुअल बैठकले पनि सकेसम्म पार्टी विभाजनलाई रोक्नुपर्ने तर समस्या समाधानको बल भने ओली कोर्टमा रहेको निष्कर्ष निकालेको छ।
त्यही बेला औपचारिक–अनौपचारिक संवादको माध्यमबाट नेपाल पक्षलाई पार्टीबाट बाहिर पठाउन नहुने र सकेसम्म अन्तिम समयसम्म एकताको पहल गर्नुपर्ने निष्कर्षमा ओली पक्ष पनि पुगेको हो। ‘निरन्तरको संवादपछि नै निष्कर्षमा पुग्न सकिन्छ भन्ने हाम्रो धारणा छ। अहिले नै निराश हुनुपर्दैन,’ उपप्रधानमन्त्री पौडेलले भने।
नेपाल पक्षले संवादलाई जोड दिन नसकिए नयाँ दल खोल्नुको विकल्प नभएको जनाएको छ। सो पक्षद्वारा आयोजित केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले सकेसम्म पार्टी एकतालाई कायमै राखेर जाने निर्णय गरेको थियो। त्यसपछि बसेको स्थायी कमिटी बैठकले ६ वटा बुँदालाई अघि सारेर पार्टी विभाजन रोक्ने प्रयास गर्नुपर्नेमा जोड दिएको छ। नेपाल पक्षले पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने, माधव नेपालसहितका नेताहरूमाथिको कारबाही फिर्ता हुनुपर्ने, २०७५ जेठभन्दा अगाडिकै स्थायी कमिटीको बैठक बोलाउनुपर्ने, नवौँ महाधिवेशनको विधानबमोजिम पार्टी चल्नुपर्ने, तल्लो तहका नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउनुपर्ने, प्रतिनिधिसभा विघटन, अध्यादेशलगायत संविधान विपरीतका कार्यमा गल्ती स्वीकार गर्नुपर्ने सर्त अघि सारेको छ। त्यस्ता विषय नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा जोडतोडले उठेका छन्।
‘पछिल्लोपटक माधव नेपालसँगै विभिन्न चरणमा संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले कुनै निष्कर्षमा पुग्न सकिँदैन। नेपालसँगै सहकार्य गरे पार्टी बलियो र ठुलो हुनेछ भन्ने हाम्रो धारणा हो। यसमा एक पटक होइन, धेरै पटक नेपाललाई आश्वस्त पार्नुपर्ने हुन्छ,’ ओली पक्षबाट संवादका लागि प्रयासरत एक नेताले भने।
उनका अनुसार कमजोरी एकातिरबाट मात्र भएको छैन भन्ने स्वीकार भयो भने समस्या सुल्झाउन कठिन हुँदैन। ‘दुवै तर्फबाट इमानदार ढङ्गले कमजोरी स्वीकार भए पार्टी एकता सम्भव छ। हामी यो प्रयासमा छौँ। भोलिका दिनमा एक्लै हिँडेर कहीँ पुगिँदैन। मुख्य कुरा नेताहरूको व्यवस्थापनको विषय हो। नेताहरूको व्यवस्थापन भए समस्या सुल्झिन्छ,’ उनले भने। खास गरी अबको निर्वाचनमा कसको हैसियत के हुन्छ भन्नेबारे खुलस्त कुरा भए समस्या सुल्झन समय नलाग्ने ती नेताको भनाइ छ। फरक विचार समूहमा रहेका साथीहरू पनि नयाँ दल खोल्ने पक्षमा नभएकाले संवादलाई नै अघि बढाउने पक्षमा ओली समूहका नेताहरूले जोड दिएका छन्।
ओली पक्षसँगको संवादका क्रममा नेपाल पक्षले यसअघि वरिष्ठ नेता नेपालले अगाडि सारेको ६ बुँदे प्रस्तावमा सहमति भए मात्रै एकता सम्भव रहेको जनाएको छ। त्यसमा ओलीले पछिल्लो प्रतिनिधिसभा विघटनमा भएको कमजोरी स्वीकार गर्नुपर्ने नयाँ प्रस्तावलाई पनि अघि सारिएको छ। ‘अघिल्लो पटक पुस ५ गते गरिएको संसद् विघटनबारे पछि समीक्षा गरौँला तर कार्यदलमा छलफल चलिरहेकै बेला स्वेच्छाचारी ढङ्गले संसद् विघटन भयो। यो सामान्य विषय हुँदै होइन, यसलाई ओलीले कमजोरीका रूपमा स्वीकार गर्नुपर्छ, २०७५ जेठ २ मा फर्किने विषयसँगै संसद् विघटनको घटना भएकाले त्यसमा भएको कमजोरी स्वीकार नगरेसम्म एकताको सम्भावना निकै कमजोर रहेको छ,’ नेपाल पक्षका एक नेताले भने।
नेपाल पक्षसँगको अनौपचारिक संवादमा ओली पक्षले भने प्रधानमन्त्रीविरुद्धको हस्ताक्षर र सर्वोच्च अदालतमा रिट दर्ताबाट फिर्ता हुनुपर्ने अडान राखेको छ। तर नेपाल पक्षले संसद् विघटनमा कमजोरी स्वीकार नगरेसम्म फिर्ता नहुने अडान राखेकै कारण अनौपचारिक संवादमा कुरा नमिलेको सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहितका नेताहरूले बैठकलाई जनाएका थिए । त्यसलाई अडानका रूपमा नभई सर्वोच्च अदालतले जे फैसला गर्छ, त्यसलाई मानेर जाने गरी २०७५ जेठ २ मा फर्किएर एकता जोगाउन सकिने मध्यमार्गी विचारसमेत अघि सारिएको नेपाल पक्षका नेताहरूले जनाएका छन्। संवाद चलिरहेका बेला संसद् विघटन गर्नु र नेताहरूलाई कारबाही गरेर संवाद गर्नुको अर्थ नभएको पनि नेताहरूले जनाएका थिए।
’बालुवा पेलेर तेल आउँदैन’
नेता माधवकुमार नेपालले आफू पक्षीय जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारीहरूको बैठकमा अध्यक्ष केपी ओलीले वार्ताको नाटक गरेर अलमल्याउन मात्रै खोजेको आरोप लगाएका छन्। एमालेभित्रको आन्तरिक विवाद मिलाउन ओलीले इमानदार प्रयत्न नगरेकाले बालुवाटारको बालुवा पेलेर तेल निस्कन नसक्ने भनाइ उनले राखेका छन्।
प्रधानमन्त्री केपी ओलीसँग झुकेर वार्ता गर्ने र आत्मसमर्पण गर्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै नेता नेपालले आफू कमजोर हुँदा ओलीले झुक्क्याउने गरेको र अहिले पनि वार्ताका नाममा झुकाउने प्रयासमा लागेकाले आफूलाई अब ओली सच्चिएर आउलान् भन्ने नै लाग्न छाडेको तर पनि साथीहरूले प्रयासचाहि“ गरिरहेको बताएका थिए।
नेता नेपालले जिल्लाका पदाधिकारीहरूको सुझावकै आधारमा आफू अगाडि बढ्ने र त्यसका लागि खुलस्त सुझाव दिन आग्रह गरेका थिए। ‘ओलीले वार्ताका नाममा अलमलाउने खेती मात्र गरिरहेका छन्। कम्तीमा आफूलाई भने ओली अब सच्चिएर आउँछन् भन्ने लागेको छैन,’ नेता नेपालको भनाइ उद्धृत गर्दै एक जिल्ला अध्यक्षले भने। जिल्लाका पदाधिकारीहरूसँग भने नेता नेपाल मात्रै भर्चुअल बैठकमा सहभागी थिए। सो भर्चुअल बैठकमा सहभागी २ सय ३ पदाधिकारीमध्ये शनिवार ३० जनाले सुझावसहितको धारणा राखेका थिए।
ओलीले एमालेभित्रको विवाद मिलाउन सर्वोच्च अदालतमा नेपालसहितका उनी पक्षधर नेताले हस्ताक्षर गरी दर्ता गरेको रिटबाट नाम फिर्ता लिन गरेको आग्रह स्वीकार्य नहुने बताएका थिए। ‘ओली नेतृत्वको सरकार हेर्नुभएकै छ, ओलीले कस्ता मान्छेलाई समेटेर मन्त्रिमण्डल बनाएका छन्,’ नेता नेपालले भनेका थिए। उनले संवादका नाममा धेरै समय अल्झिनेतिर जान नहुने भन्दै एक स्टेप चाल्नैपर्ने अवस्था आएको बताएका थिए।- नागरिक दैनिकबाट