मन्त्रीबाट हटेपछि पूर्व उपप्रधानमन्त्री पोखरेलले दिए यस्तो प्रतिक्रिया
२३ जेठ काठमाडौ । अब नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू पार्टीमा क्रियाशील रहने बताएका छन् । मन्त्रिपरिषद पुनर्गठनमा प्रधानमन्त्री ओलीले बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई गत शुक्रबार उनको स्थानमा उपप्रधानमन्त्री बनाएका थिए ।
एमाले र नेकपा माओवादी एकता हुँदा पोखरेल महासचिव रहेका थिएनन्, ओलीले बिष्णु पौडेललाई महासचिव बनाएका थिए । उपप्रधानमन्त्रीबाट बाहिरिएपछि आइतबार पोखरेलले अब आफू पार्टीमै क्रियाशील रहने बताएका हुन् । आफू नेकपा एमालेको महासचिव रहेकोले अब पार्टीमै क्रियाशील रहने उनले बताए ।
‘म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँत यस सम्वन्धमा कुराहरू भएका छन्। उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु,’ आइतबार उनले फेसबुकमा लेखेका छन् ।
यस्तो छ पोखरेलको भनाइ:
म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन ) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहेँ।
शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेँ।
यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु। यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पूरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो। मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो।