माधव नेपालसॅंग शर्त स्वीकारेर एकता हुदैन – नेता थापा
२५ जेठ काठमाडौं।अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षले राखेको शर्त स्वीकार गरेर एकता नहुने दाबी गरेका छन्। आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए।
त्यसमाथि सोमबार लिखित प्रतिक्रिया जनाउँदै नेता नेपालले ओलीको वक्तव्यको भ्रममा नपर्न आफू पक्षीय नेता कार्यकर्ताहरूलाई आह्वान गरेका थिए र ६ बुँदे प्रतिउत्तर प्रस्ताव राखेको थिए। नेता नेपालले राखेको शर्त स्वीकार गरेर पार्टी एकता नहुने थापाले प्रतिक्रिया दिएका हुन्। उनले यी शर्तमा नेपाल गुटसँग नभई नेपाली काँग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन्।
अब जेठ २ को रटानको अध्याय सकिएको उनको भनाइ छ। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कु नेपालका सर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरु एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोसिस छोडौं।’
