संसद पुनर्स्थापना हुन्छ – अध्यक्ष प्रचण्ड
२५ जेठ काठमाडौं। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रचण्डले अहिले नांगो रूपमा संसद् विघटन गरिएकाले पुनर्स्थापना हुने बताएका हुन्।
‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो,’ प्रचण्डले भने, ‘ओलीले ५ पुसमा पनि संसद् विघटन गरे, हामीले लडेर संसद् फिर्ता ल्यायौं, त्यति बेला पनि मैले हामी जिउँदै छौं भनेको थिएँ, अहिले त झन् नांगो रूपमा संसद् विघटन गरिएको छ, संसद् पुनर्स्थापना हुन्छ।’
पहिलो चोटि गरिएको संसद् विघटनको बेला काँग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘पहिलो पटक चाहिँ नेपाली काँग्रेस पनि के हो के हो भन्नेमा थिएँ, अहिले त काँग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छन्।
जनता समाजवादी पार्टीका उपेन्द्रजीहरू पनि साथमा छन्। माधवजीहरू पनि सँगै छौं। जनमोर्चा पनि साथमा छौं।’
अदालतबाट संसद् पुनर्स्थापना हुने र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गरे। उनले भने, ‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ।’
संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि प्रचण्डले सुनाए। त्यस्तै केपी ओली र उनीसँग सम्बद्ध शक्तिले माओवादीलाई एक्लाउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाइ थियो।