नेता रावलको प्रश्न : मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकताको पाठ सिक्ने कि ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
4K
SHARES

२५ जेठ काठमाडौं। आज नेकपा एमालेबाट निष्कासन गरिएका नेता डा. भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट नैतिकता सिक्न सुझाएका छन्।

विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री भट्टलाई बधाई दिँदै रावलले उनीबाट राजनीतिक नैतिकताको शिक्षा लिन एमाले संस्थापन (अध्यक्ष केपी ओली) पक्षलाई सुझाएका हुन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मङ्गलवार विश्वासको मत लिएका छन्। उनलाई एमालेबाट निष्काशन गरिएका नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए। पार्टीको संस्थापन पक्षको ह्विप उल्लंघन गरी नेपाल पक्षले माओवादीका मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको थियो।

२४ सांसद रहेको एमालेका ७ सांसद अध्यक्ष ओली पक्षका छन्, उनीहरूले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन्। मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएको भन्दै रावलले यसबाट विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने बताए।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि!’

रावल नेता माधव नेपाल निकट छन्। अध्यक्ष ओलीले नेपालसँगै रावललाई पनि कारबाही गरेका छन्। तर सुदूरपश्चिममा नेता नेपाल पक्षका सांसदहरूको दबदबा छ। केन्द्रले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिए पनि संसदीय दलको बैठक गरी विश्वासको मत दिने निर्णय गरेका थिए।

नेता रावल पनि सुदूरपश्चिमकै हुन्। उनी एमाले सुदूरपश्चिम प्रदेश ईञ्चार्ज थिए। तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हस्ताक्षर गरेपछि रावलसहित नेता नेपाल पक्षका ११ जनालाई पार्टीबाट अध्यक्ष ओलीले निकालेका थिए।